एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड भिक्टोर मानसारेलाई अनुबन्ध गरेको छ ।
सिरएरालेओनमा जन्मिएका भिक्टोरले अमेरिकाको उमेर समूहको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए । पछिल्लो समयमा उनले एसियाको भियतनाम र इन्डोनेसियन लिगहरु खेलेका थिए ।
चितवनले चौथो विदेशी खेलाडीको रुपमा भिक्टोरलाई अनुबन्ध गरेको हो । चितवनले यसअघि अमेरिकन जोनाथन क्याम्पबेल, उज्वेकिस्तानमा नोदरिक माभनोलोभ र जमैकन गोलकिपर अमल नाइटलाई अनुबन्ध गरिसकेको छ ।
यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।
नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की बनाएको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।
यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।
चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
