साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ ।गएराति सम्पन्न खेलमा अल नासर अल सबाबसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
अल नासरको घरेलु मैदान भएको खेलमा घरेलु टोली अल नासरका लागि अयमान याह्या र क्रिष्टियानो रोनाल्डो गोल गरे । अल सबाबका लागि अब्देर्राजक हमदल्लाहल र मोहम्मद अल श्वेरेखले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने अल सबाबले लिएको थियो ।खेलको ४४औं मिनेटमा हमदल्लाहको पेनाल्टी गोलमा अल सबाबले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अल-नासरका याह्याले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि पहिलो हाफकै इन्जुरी समयको सातौँ मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दा अल नासरलाई २-१ ले अघि बढ्यो । पहिलो हाफमा २-१ गोलअन्तरको अग्रता लिएको अल-नासर दोस्रो हाफमा भने सम्हालिन सकेन ।
खेलको ५२औं मिनेटमा मोहम्मद अल फाटिल रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटियो । खेलको ६७औं मिनेटमा अल सबाबका अल श्वेरेखले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए ।
बाँकी समयमा गोल हुन नसकेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
बराबरीसँगै लिगको चौथो स्थानमा रहेको अल नासरले २४ खेलबाट ४८ अंक जोडेको छ । समान खेलबाट ४० अंक जोडेको अल सबाब भने लिगको छैटौँ स्थानमा छ ।
