विराटनगर । थ्री स्टार क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सहिद रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई २-१ ले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अब थ्री स्टारले आइतबार पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टारको जितमा आशिष चापागाईं र दिपेश घलेले समान एक गोल गरे । मच्छिन्द्रका कप्तान देबेन्द्र तामङले एक गोल फर्काए ।
खेल सुरु भएको १५औं मिनेटमा थ्री स्टारका आशिषले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमाए । अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५औं मिनेटमा दिपेशले थ्री स्टराको अग्रता दोब्बर पारे ।
खेलको अन्त्यतिर ८९औं मिनेटमा मच्छिन्द्रका देवेन्द्रले सान्तवना गोल फर्काए । उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच थ्री स्टारका दिपेश घले घोषित भए । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार चौथो क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) बीच साँझ ६ः३० बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा समूह सहभागी छन् ।
प्रतियोगिताको विजेतालाई ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
