विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार विराटनगरको सहिद मैदानमा भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।
लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७०औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।
पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको बिजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।
चर्च ब्वाइजले यो सिजनमा भएको २४औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । माघ ३० गते पोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो ।
खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।
विराट गोल्डकपको बिजेताले ११ लाख र उप बिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
