लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

जारी पिएम कपमा पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य कोशीले ८.२ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

कोशीका लागि साकिब हकले अविजित १६ र चिराग साहले १० रन बनाए । गण्डकीका लागि एकमात्र विकेट सुवास भण्डारीले लिए ।

त्यसअघि भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।

यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सबैभन्दा कम योगफल हो । यसअघि सन् २०१९ को पिएम कपको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लब नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो ।

गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक हो । गण्डकीका चार ब्याटर रनको खाता पनि खेल्न नपाइ पेभेलियन फर्किए ।

कोशीका लागि विपिन महतोले आठ ओभरमा तीन मेडनसहित मात्र १७ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । यसैगरी, फिरदोस अन्सारीले तीन र दिपेश कँडेलले एक विकेट लिए ।

कोशीले पाँचौ खेलमा पहिलो जित हात पारेको छ । कोशीको २ अंक भएको छ । गण्डकीले खेलेको ४ मध्ये १ खेलमा जित हात पारेको छ । गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *