लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित निकालेको छ ।
सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ८३ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो ।
मधेशका लागि दिपेश दासले २३ र हरिशंकर शाहले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि रमेश कुर्मीले ४, विप्रेशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १ विकेट लिए ।
त्यसअघि लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा १५८ रनको योगफल तयार गरेको थियो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले १२३ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी कृष्ण कार्कीले ३३ र देव खनालले १६ रन बनाए ।छैटौं विकेटका लागि आकाश र कृष्णले ७५ रनको साझेदारी गरे ।
मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३ तथा हरिशंकर साह, प्रदिप पासवान र रञ्जित कुमारले समान १ विकेट लिए ।
यो जितसँगै लुम्बिनीले ५ मध्ये ४ खेल जितेर ८ अंक जोडेको छ । पराजित मधेशको ४ मध्ये ३ खेल हारेर २ अंक रहेको छ ।
