ललितनारायण राजवंशीको सानदार बलिङको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।

शुक्रवार भएको विभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । एपिएफले दिएको ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । गुल्शन झा १२ रनमा अविजित रहे । अर्जुन साउदले ११ तथा राशिद खानले १० रन बनाए । सुरुवात राम्रै गरेको भएपनि ५९ रन जोड्दा सेट ब्याटर कुशल भुर्तेल आउट भएपछि पुलिस दबाबमा आएको थियो ।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले समान २ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ तथा लोकेश बमले २२ रन बनाए । आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन बनाए ।

एपीएफलाई सस्तैमा अलआउट गर्न पुलिसका ललित राजवंशीले ७.४ ओभरमा १८ रन दिएर ६ विकेट लिए । सागर ढकाल, करण केसी, गुल्शन झा र कुशल भुर्ते‍लले समान एक विकेट लिए ।

लगातार तेस्रो जित हात पारेको पुलिस ६ अंकका साथ दोस्रो स्थानमा छ । पहिलो र दोस्रो खेलमा पुलिसले लुम्बिनी र कोशीलाई पराजित गरेको थियो । तेस्रो खेलमा पहिलो हार बेहोरेको एपिएफ ४ अंक सहित तेस्रो स्थानमा छ । एपिएफले यसअघि मधेश र बागमतीलाई हराएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ । विभागीय टोली पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *