युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत  लिग चरणको आफ्नो अन्तिम खेलमा हङकङविरुद्ध नेपालले १०५ रनको लक्ष्य पाएको छ ।

एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०४ रनको योगफल तयार पारेको हो ।

हङकङका लागि शन्जिन शहजादले ४७ बलमा सर्वाधिक ५४ रनको योगदान गरिन् । यसैगरी चान का यिङले १६ र यास्मिन दासवानीले १४ रन बनाए ।

नेपालका लागि राजमति ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महताे र ईश्वरी विष्टले समान एक विकेट लिए ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।

नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *