पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । फिदिम माविको भोलि सुरु हुने प्रतियोगिताको ट्रफी आयोजक पाँचथर क्लबका पदाधिकारीहरु शुक्रवार अनावरण गरेका हुन् ।
पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ । ट्रफी अनावरण गर्दै क्लबका उपाध्यक्ष शिव अधिकारीले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए ।
आयोजक र पथरी ११ बिच उद्घाटन खेल हुनेछ । फागुन २५ गते चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुने छ । फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लबको सामना गर्नेछ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २८ र २९ गते सेमिफाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।
