बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने भएका छन् ।
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता चैत २३ (अप्रिल ५) मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना हुने तय छ ।
प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिताको ‘अल-राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल प्राप्त गर्नेछन् । उक्त बल डेढ तोला सुनको हुने बताइएको छ ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन-वन’ पुरस्कारका रूपमा ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
