सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ ।
सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ।
उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार र पहिलो चरणमा हार्ने आठ खेलाडीले ६ हजार हात पार्नेछन् ।
प्रतियोगिताको नियम अनुसार नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६औं वरियताका पशुपति शर्मासँग खेल्नेछन् । नेपाल नम्बर २ गल्फर निरज तामाङ र १५औं वरियताका सूर्य प्रसाद शर्माबीच पहिलो चरणको खेल हुनेछ ।
अर्को खेलमा तेस्रो वरियताका दिनेश प्रजापतिको सामना १४ औं वरियताका रमेश अधिकारीले गर्नेछन् । चौथो वरियताका रवि खड्का र १३औं वरियताका टंक बहादुर कार्कीबीच खेल हुनेछ । यस्तै १२औं वरियताका प्रदीप कुमार लामाले ५औं वरियताका सञ्जय लामाको सामना गर्ने छन् ।
यसैगरी छैटौं वरियताका जयराम श्रेष्ठ र ११औं वरियताका तोरण विक्रम शाही, सातौं वरियताका रामे मगरले १०औं वरियताका दीपक मगर, तथा आठौं वरियताका धन बहादुर थापाले नवौं वरियताका भुवन कुमार रोक्कासँग खेल्ने तालिका रहेको छ ।
पहिलो चरणका विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धा १८ होलको हुनेछ । फाइनल भने ३६ होलको हुनेछ । पहिलो चरणको खेल भोलि हुनेछ । क्वाटरफाइनल र सेमिफाइनल बुधवार, तथा फाइनल र तेस्रो स्थानको लागि विहिवार प्रतिस्पर्धा हुनेछ ।
“नेपालमा व्यावसायिक गल्फको वृद्धि र प्रवर्द्धनमा सूर्य नेपाल प्रा. लि. एक महत्वपूर्ण साझेदार रहँदै आएको छ,” प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालका अध्यक्ष रविन्द्र मान श्रेष्ठले भने । “विगतका वर्षहरूमा उनीहरूको निरन्तर सहयोगप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्न चाहन्छौं । उनीहरूको प्रतिबद्धता बिना सूर्य नेपाल गल्फ टुरले आजको उचाइ हासिल गर्न सक्ने थिएन । म यस साता आयोजना हुने म्याच प्ले हेर्न विशेष उत्साहित छु । देशमा गल्फको विकासप्रति सूर्य नेपालको निरन्तर समर्पणका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौं ।”
