सुर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् ।

५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङ‌लाई तोरणले एक स्ट्रोकले हराए ।

उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए । उनले नगद १ लाख ५० हजार प्राप्त गरे । उनको करियरको यो तेस्रो उपाधि हो ।

च्याम्पियन तोरणले जतिकै ५-अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७-अन्डर २७१ सहित दोस्रो भए । उनले नगद १ लाख प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले ।

समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते । उनले राहुललाई ९ स्ट्रोकले हराए ।

समग्रमा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौं भए । राहुले आज २-ओभर ७४ स्कोर जोडे । समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले। एमेच्योरतर्फ उनी दोस्रो भए ।

दिनेश प्रजापति समग्रमामा ३-अन्डर २८५ सहित छैटौं भए । उनले आज इभन-पार ७२ को स्कोर गरे । प्रोतर्फ चौथो भएका उनले ६३ हजार हात पारे । नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३-ओभर ७५ खेल्दै समग्रमा १-अन्डर २८७ स्कोर गर्दै सातौं भए । प्रो तर्फ पाँचौं हुँदा ५३ हजार आफ्नो नाममा लेखाए ।

जयराम श्रेष्ठले आज बिर्सनलायक ८ ओभर ८० को स्कोर गर्दा समग्रमा ३-ओभर २९१ सहित समग्रमा आठौं भए । प्रो तर्फ उनी छैटौं हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे । टंक बहादुर कार्की समग्रमा ४-ओभर २९२ सहित नवौं भए । प्रोतर्फ सातौं हुँदै ४२ हाजर जिते । समग्रमा ८-ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्य प्रसाद शर्मा दशौं भए । उनीहरू प्रो तर्फ आठौं भएसँगै ३६ हजार ५ सय हात पारे ।

फाइनल दिनको खेल सुरूवात गर्दा तोरण निरज भन्दा एक स्ट्रोकले मात्र अगाडि थिए । जहाँ तोरणलाई निरजले कडा चुनौती दिए । फ्रन्ट नाइनमा तोरणले तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । निरजले चौथो र नवौं होलमा एक-एक सट बचाए । फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनको समाप्तीमा तोरण २ स्ट्रोकले अघि बढे ।

यसपछि तोरणले १० औं होलमा एक सट बचाएसँगै उनले ३ स्ट्रोकको अग्रता बनाए । ११औं होलमा दुवैले बर्डी प्रहार गरे । यसपछि निरजले १४औं र १५ औं होलमा लगातार दुई बर्डीको सफलतामा अग्रता एक स्ट्रोकमा झार्दै तोरणलाई दबाब दिए । तर लगतै १६औं होलमा बोगी हाने र फेरि २ स्ट्रोकले पछि परे ।

१७औं होलमा बर्डी प्रहार गर्दै पुनः अग्रतालाई १ स्ट्रोकमा झार्दै १८औं होललाई समेत रोमाञ्चक बनाए । अन्तिम होलमा दुवैले पार खेले र तोरण १ स्ट्रोकको जितमा १२ वर्षपछि च्याम्पियन बने ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका सिनियर ब्रान्ड म्यानेजर विदुर राज अधिकारी र नेपाल प्रोफेसनल गल्फ एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्र मान श्रेष्ठले पुरस्कार वितरण गरे ।

चार दिने प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको थियो । प्रतियोगितामा ३० प्रो र ९ एमेच्योर गरी कुल ३९ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *