सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ ले पराजित गरेको हो । जितसँगै सरस्वतीले तीन अंक जोडेको छ ।

सरस्वतीको जितमा सबिन लुङ्गेली मगर र धिरेन्द्र बहादुर शाहले गोल गरे। बाँसबारीका विक्की राईले गरेको गोल सान्त्वना रह्यो ।

खेलको ३३औं मिनेटमा सबिनको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो । कप्तान शक्ती राईले मैदानको बिच भागबाट दिएको बलमा रन बनाउँदै सविनले अपर बारबाट गोल गरेका थिए ।

५१औं मिनेटमा धिरेन्द्रले टोलिको अग्रता दोब्बर बनाए । आफ्नै खेलाडीले दिएको बललाई बाँसबारीका गोलकिपरले क्लियर गर्न ढिला गरेका थिए । सोही मौकाको सदुपयोग गर्दै धिरेन्द्रले बल खोस्दै सहजै गोल गरे ।

इन्जुरी समयमा बाँसबारीका विक्कीले गोल फर्काए पनि हार टार्न सकेन ।

आजै भएको पहिलो खेलमा नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन गोलरहित बराबरीमा रोकिएका थिए ।

१४ टोलीको सहभागिता रहेको लिगमा योसँगै पहिलो चरणका सबै खेल सकिएको छ । पहिलो चरणमा सरस्वती, प्लानिङ ब्वाइज, ब्रिगेड ब्वाइज र श्री भगवतीले समान ३ अंक जोडेका छन् ।

च्यासल, वीरगञ्ज, टुसाल, मध्यपुर, नयाँवस्ती र ब्वाइज युनियनले समान १ अंक छ । झापा, श्री कमारी, आरसीटी र बाँसबारीले पहिलो चरणमा अंकको खाता खोल्न सकेनन् । चैत ४ गतेदेखि दोस्रो चरणका खेल हुनेछन् ।

लिग समाप्तीमा शीर्ष २ क्लब ए-डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन् ।

लिगको विजेता टोलीले नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद १० लाख पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तेस्रो हुने टोलीले रु ५ लाख हात पार्नेछ । फेयर प्ले टिमलाई रु १ लाख, उत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५० हजार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *