तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र झापा एफसी गोलरहित बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा झापाले १० खेलाडीमा सीमित भएको बुटवललाई दबाब दिए पनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाएको हो ।
खेलको ७०औं मिनेटमा कप्तान एरिक विष्ट दोस्रो पँहेलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।
यस बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान १ अंक जोडेका छन् । बुटवलले तेश्रो र झापाले दोश्रो पटक एनएसएलमा सहभागिता जनाएका हुन् ।
यी दुई टोलीबीच गत संस्करण एक खेलमा मात्र भेट भएको थियो । उक्त भेटमा बुटवल १-० ले पराजित भएको थियो ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा दुई पूर्व च्याम्पियन ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २-२ को बराबरी खेल्दै लिगको तेश्रो संस्करणको शुरुवात गरेका थिए ।
