प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् ।
आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजे हुने छ । बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो ।
त्यस्तै अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सोही समयमा सुरु हुने तालिका रहेको छ । लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो ।
त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने छ । यो खेल दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा हुने छ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दै छ ।
क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल हुनेछन् । फाइनल खेल भने सिद्धार्थ रंगशालामा हुने जनाइएको छ।
प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन् । खेल तालिकाअनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
