पाँचथर । इन्ट्रा पथरी ११ फुटबल क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार फिदिम माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पथरी ११ लाई ३-१ ले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।

मच्छिन्द्रको जितमा विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे ।
खेलको २४औं मिनेटमा विशालको गोलमार्फत मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा बराबरी गोल गर्न पथरी ११ ले ६६औं मिनेट पर्खिनु परेको थियो ।
पथरी ११ का विदेश खेलाडी अर्माण्डले गोल गर्दै खेलमा फर्किएपछि खेल थप रोमाञ्चक बनेको थियो । तर, ८४औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल गर्दा मच्छिन्द्र २-१ ले अघि बढ्यो ।
पथरी ११ विरूद्ध २-१ गोलको अग्रता कायम गरेको अवस्थामा मच्छिन्द्रका लागि थप गोल नवयुगले खेलको इन्जुरी समयमा गरेपछि फाइनल यात्रा सुनिश्चित बनेको हो ।

खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
अब मच्छिन्द्रले उपधिका लागि बिहीबार हुने चर्च ब्वाइज युनाइटेड र नमो बुद्ध युथ क्लब सप्तरीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पाँचथर क्लबले आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार पाउँदा उपविजेताले नगद ५ लाख ५५ हजार र ट्रफी प्राप्त गर्नेछ ।
