नेपाल मलेसियासँँग पराजित

२०८१, ११ चैत्र मंगलवार २२:०३

एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा मंगलबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँँग २-० ले पराजित भएको हो ।

पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोश्रो हाफमा थप १ गोल व्यहोर्यो । खेलको २९औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो ।

पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् । उनी नेदरल्यान्ड्समा जन्मिएका हुन् ।

त्यसपछी ७०औं मिनेटमा कोर्बिन–ओनङले गोल गर्दा मलेसिया २-० ले विजयी भयो । खेलको अधिकांश समय रक्षापंक्तीमा बिताएको नेपालले कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन ।

एसियन कप छनोटको समूह एफ मा मलेसियाले जितसहित ३ अंक जोडेको छ । नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ । नेपालले आगामी जुनमा लाओससँग अवे म्याच खेल्ने तालिका छ ।

समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५-० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो । तर, एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउनका दशरथ रंगशालालाई मान्यता नदिदा नेपालले मलेसियामा गएर खेल्नु परेको हो ।

यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र मलेसियाले होम म्याच स्वाप (साटेको) गरेको र आगामी नोभेम्बरमा मलेसियाको घरेलु मैदानमा खेल्ने भनिएको म्याच नेपालमा खेलिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *