युगाण्डामा जारी चार देशीय महिला टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ ।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो ।
नेपालको लागि साना प्रविणले सार्वधिक ३१ रन बनाइन् ।यसैगरी कविता जोशीले १७ तथा कप्तान इन्दु बर्मा र पूजा महतोले समा १५ रन बनाए । यी ४ बाहेक अन्यले दोहोरो रन छुन सकेनन् ।
नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रनको योगफल खडा गरेको थियो ।
नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ र सुने विटम्यानले १५ रन बनाए ।
नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । हारसँगै नेपालको चार खेलको दुई अंक छ । यससँगै नेपालको फाइनल सम्भावना कमजोर बनेको छ ।
नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।
यता दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अंक छ । नामिबियाले पनि नेपाललाई हराएयता हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो ।
अब नेपालले हङकङसँग भोलि खेल्नेछ ।
