लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्तले अविजित ५५ रनको योगदान गरे । यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित रन बनाए ।
सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग अविजित ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे ।सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।सुदूरपश्चिमका लागि निश्चल क्षेत्री अविजित ४९ रन बनाए । यस्तै सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए ।
बलिङतर्फ आर्मीका शाहब आलमले १० ओभरमा १९ रन दिएर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समान एक विकेट लिए ।
जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो ।
