आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।

कर्णालीले सुदूरपश्चिमलाई ७९ रनले हराएको हो । कर्णालीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमा अलआउट भएको हो । सुदूरका लागि खडक बोहराले सर्वाधिक २७ रन बनाए । किरण ठगुन्ना र शेर मल्लले समान १३ रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले ९ ओभरमा ३३ रन दिएर ७ विकेट लिए । दिवान पुनले २ विकेट लिए ।

त्यसअघि वर्षाले मैदान भिजेका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो । टस जितेर ब्याटिङ गरेको कर्णालीले ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको थियो ।

अर्जुन घर्तीले ७१ रन बनाएका थिए । सुदूरका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । नारायण जोशीले २ तथा शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *