आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोली लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।
लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले हराएको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा अलआउट भएको हो । कोशीका लागि सुजन थपलियाले सार्वधिक ३५ रन बनाए ।
ओपनर चिराग साह ३१, सुवान गहतराज २९, साकिब हक २७ तथा कप्तान अंकित सुवेदी १८ रन बनाए । लुम्बिनीका लागि अजय चौहानले ८.४ ओभरमा ३२ रन खर्चिएर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले १-१ विकेट लिए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । नर सार्कि ४५ तथा मिन्राल गुरुङ ४३ रन बनाए ।
कोशीका लागि प्रकाश कार्की र दिपेश कंडेलले ३-३ विकेट लिए । यस्तै, फिर्दोस अन्सारीले २ विकेट लिए ।
