लिलविरुद्ध पुनरागमन जित हासिल गर्दै बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको ।
बुधबार राति भएको खेलमा लिललाई २-१ ले हराउँदै समग्रमा ३-२ को अग्रतासहित डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।
लिलको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन कप्तान एम्र चान र म्याक्सिमिलियन बाएरले गोल गरे । लिलका लागि जोनाथन डेभिडले गोल गरे ।
खेलको पाँचौं मिनेटमै डेभिडको गोलमार्फत घरेलु टोली लिलले अग्रता लिएको थियो । तर, डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गर्यो ।
५४औं मिनेटमा कप्तान चानले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याए । थोमस मुनियरले सेरहु गुइरासीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि डर्टमण्डले पेनाल्टी पाएको थियो । ६५औं मिनेटमा बाएरले डर्टमण्डका लागि निर्णायक गोल गरे ।
यसअघि डर्टमण्ड र लिलबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । अब डर्टमण्डले अर्को महिना ला लिगाको शीर्ष टोली बार्सिलोनासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
