युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको निर्णायक खेलमा आज ४ खेल हुँदैछन् ।
गए राति ४ खेल भइसकेका छन् । आज ४ खेल भएपछि अन्तिम १६ का सबै खेल सकिनेछन् भने क्वार्टरफाइनल पुग्ने ८ वटै टिमको टुंगो लाग्नेछ । गत रातिका ४ खेलबाट ४ टिमले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।
आज दोस्रो दिनको पहिलो खेलमा फ्रान्सको क्लब लिल र जर्मन क्लब बोरुसिया डर्टमुन्ड आमनेसामने हुँदैछन् । यो खेल लिलको घरेलु मैदानमा राति ११ः३० बजेबाट सुरु हुनेछ ।
यसअघि डर्टमुन्डको घरमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । गत सिजनको फाइनालिस्ट डर्टमुन्ड आज अवे मैदानमा उत्रिंदा स्पष्ट जितका साथ अन्तिम आठमा प्रवेश गर्ने योजनामा छ । तर घरेलु टोलीको चुनौती डर्टमुन्डलाई सजिलो हुनेछैन ।
यो खेलको विजेता टिमले क्वार्टरफाइनलमा बार्सिलोनासँग भिड्नुपर्ने छ । बार्सिलोना गत राति बेनफिकालाई समग्रमा ४-१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरिसकेको छ ।
आजको सबैभन्दा रोमाञ्चक र हेर्नलायक खेलमा स्पेनिस ला लिगाका कट्टर प्रतिस्पर्धीरू रियल मड्रिड र एट्लेटिको मड्रिड आमनेसामने हुँदैछन् । यो खेल एट्लेटिकोको घरेलु मैदानमा राति १:४५ बजेबाट सुरु हुनेछ । रियलको घरमा भएको पहिलो लेगको खेलमा रियलले २-१ ले जितेको थियो ।
आज आफ्नो घरमा खेल्दा जितका लागि एट्लेटिकोलाई कम्तीमा २ गोलको अन्तरमा जित चाहिन्छ भने रियल मड्रिडले ०-० वा जति गोलको भए पनि बराबरी मात्रै खेले पनि पुग्छ । घरेलु टोली भएकाले आज एट्लेटिकोमाथि दबाब ज्यादा रहनेछ ।
इतिहास र तथ्यांक कस्तो छ भने, आजसम्म च्याम्पियन्स लिगमा एट्लेटिकोले कहिल्यै पनि रियललाई हराएर आउट गराउन सकेको छैन । यसपटक एट्लेटिको पहिलोपटक फरक नतिजा निकाल्न चाहन्छ । यता, रियल भने सहरी प्रतिस्पर्धीलाई आज पनि हराएर आफ्नो दबदबा कायमै राख्न प्रयास गर्नेछ ।
पहिलो लेगमा जितेको २-१ को अग्रता रहेकाले आजको खेलमा रियलमाथि कम दबाब रहनेछ । १ गोलको अग्रता लिएर अवे मेदानमा उत्रिंदा रियल मड्रिडसँग सबै मुख्य खेलाडी उपलब्ध छन् । यसअघि पहिलो लेगमा रियलले पहिला गोल खाएको अवस्थामा २ गोल गरेर कमब्याक गरेको थियो ।
आजै एकै समय राति १:४५ बजेबाट अन्य दुई खेल हुँदैछन् । एक खेलमा इंग्लिस क्लब एस्टोन भिल्ला र बेल्जियन क्लब ब्रुगी भिड्नेछन् । यो खेल भिल्लाको घरेलु मैदानमा हुनेछ । यसअघिको पहिलो लेगमा भिल्लाले ३-१ को जित निकालेको थियो । तसर्थ आजको खेल हुँदा भिल्लालाई दबाब रहनेछैन । अर्को खेलमा इंग्लिस क्लब आर्सनल र डच क्लब पिएसभी भिड्दैछन् । यो खेल आर्सनलको घरेलु मैदानमा हुँदैछ ।
यसअघि अवे मैदानमा भएको खेलमा आर्सनलले ७-१ को फराकिलो जित निकालेको हुँदा आजको खेलमा आर्सनल बिनादबाब खेल्नेछ । यदि आजको खेलमा आर्सनल र रियल मड्रिड दुवैले आ-आफ्नो खेल जिते भने क्वार्टरफाइनलमा यी नै दुई टिमको रोमाञ्चक भिडन्त हुनेछ ।
