अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई सिरिज आज दुई खेल हुँदै छन् ।
पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दै छन् । दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन् । नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ ।
नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो । यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ ।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् ।
नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ ।
सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ ।
त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।
नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि भएका थिए । त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त सिरिजमा राम्रो खेल खेलेर फर्कने बताएकी थिइन् ।
