दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन् ।

आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेको थियो । पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो ।

प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं मिनेटमा ओलेक्सान्द्र जिनचेनकोले राहिम स्टर्लिङको पासमा गोल गरे ।

१८औं मिनेटमा इभान पेरिसिचले गुस टिलको पासबाट उत्कृष्ट प्रहार गर्दै पिएसभीलाई बराबरीमा ल्याए । ३७ औं मिनेटमा डेक्लान राइसले स्टर्लिङको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल‌ गर्दै आर्सनललाई पुनः अग्रता दिलाए ।

७०औं मिनेटमा कुहाइब ड्रिउएचले इसाक बाबादीको उत्कृष्ट पासमा बराबरी गोल फर्काए । जसले आर्सनलले घरेलु मैदानमा जित निकाल्न सकेन ।

अर्को खेलमा एस्टन भिल्लाले घरेलु मैदानमा क्लब ब्रुगलाई ३-० ले सहजै पराजित गर्यो ।

पहिलो लेगमा ३-१ जित निकालेको भिल्लाले समग्रमा ६-१ को अग्रतासहित अघि बढ्यो । क्लब ब्रुग १६औं मिनेटमा नै १० खेलाडीमा सिमित भयो । डिफेन्डर काइरियानी साब्बेले मार्कस र्यासफोर्डलाई फाउल गर्दा रातो कार्ड पाए ।

पिएसजीबाट लोनमा आएका एसेन्सियोले उत्कृष्ट प्रदर्शन गर्दै ५० औं मिनेटमा गोल गरे । लियोन बेलीको पासमा उनले गोल गरे ।

त्यसको सात मिनेटपछि इयान माटसेनले क्लबका लागि पहिलो गोल गर्दै २-० को अग्रता दिलाए । ६१औं मिनेटमा एसेन्सियोले आफ्नो दोस्रो गोल गर्दै भिल्लाको ३-० को जित निश्चित गरे ।

यी खेलसँँगै च्याम्पियन्स लिगको क्‍वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्‍वाटरफाइनलमा बायर्न म्युनिख र इन्टर मिलान, बार्सिलोना र बोरुसिया डर्टमण्ड, रियल मड्रिड र आर्सनल तथा एस्टन भिल्ला र पिएसजी खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *