आरसीटी क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोश्रो खेलमा आरसीटीले नयाँबस्ती युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।
आरसीटीको जितमा प्रज्वल गुरुङ र निखिल तामाङले गोल गरे । नयाँबस्तीका लागि पूर्ण बहादुर गुरुङले एक गोल फर्काए ।
खेलको १०औं मिनेटमा प्रज्वलको गोल गर्दै आरसीटीलाई शुरुवाती अग्रता दिलाएका थिए । २१औं मिनेटमा नयाँबस्तीका पूर्णले गोल फर्काएपछि पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो ।
त्यसपछि खेलको ६४औं मिनेटमा निखिलले गोल गर्दा आरसीटी २-१ ले विजयी भयो ।
पहिलो जितपछि आरसीटीले ३ खेलबाट ३ अंक जोडेको छ । दोश्रो हार व्यहोरेको नयाँबस्तीको समान खेलमा १ अंक रहेको छ ।
यसअघि आजको पहिलो खेलमा टुसाल युथ क्लबले सरस्वती युथ क्लबलाई १-० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।
