रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा सानदार सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा आरसिबीले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।

कोलकाताको घरेलु मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य आरसिबीले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

आरसिबीको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे । उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए । साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए ।

कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए । देवदत्त पटिकल १० रनमा आउट हुँदा लियम लिभिङ्गस्टोन ५ बलमा १५ रनमा अविजित रहे

कोलकाताका लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार गरेको थियो ।

कोलकाताका लागि कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन जोडेका थिए । उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि सुनिल नारायणसँग मिलेर राहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरे। नारायणले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका थिए ।

कोलकाताका मध्येक्रमका ब्याटर चल्न नसक्दा १ विकेटमा १ सय ७ रन जोडेर विशाल योगफलको संकेत गरेको थियो । तर, मध्यक्रमका ब्याटरहरु नचल्दा उसले ६७ रन थप्दा ७ विकेट गुमायो ।

पछिल्लो ५ ओभरमा कोलकाताले २९ रन जोड्दा ३ विकेट गुमाएको थियो । अंगकृष्ण रघुवंशी २२ बलमा २ चौका र १ छक्काको सहयोगमा ३० रन जोड्दै आउट भए ।

आरसिबीका लागि क्रुमाल पाण्ड्याले ३, जोस हेजलवुडले २, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *