अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा अल फराकिलो जित निकालेको छ । सोमवार राति भएको खेलमा साउदी क्लब अल नासरले युएई क्लब अल वासलमाथि ४–० को फराकिलो जित निकालेको हो ।
साउदी क्लबको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले समान १ गोल गरे । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्याएका छन् ।
रोनाल्डोले आफ्नो ४०औं जन्मदिन बुधबार मनाउँदै छन् । त्यसको एक दिनअघि उनले दुई गोल गरेका हुन् । उनले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत गरेका थिए । उनको गोलमा उनका छोरा पनि दर्शकदीर्घामा सेलेब्रेट गरेको देख्न सकिन्थ्यो ।
यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।
