अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले लगातार दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ ।
शनिबार साँझ भएको खेलमा आर्सनलले लेस्टरलाई उसैको मैदानमा हराएको हो ।
लेस्टरले घरेलु मैदानमा ८० मिनेटसम्म आर्सनललाई गोलरहित बराबरीमा रोकेको थियो । तर आर्सनलका मेरिनोले अन्तिम दश मिनेटमा दुई गोल गरे । उनले ८१औं मिनेटमा पहिलो गोल गरे भने ८७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई महत्त्वपूर्ण ३ अंक दिलाए ।
आफ्नो पहिलो रोजाइका स्ट्राइकर चोटिल भएपछि समस्यामा परेको आर्सनललाई उद्धार गर्दै मेरिनोले आफ्नो टिमलाई उपाधि होडमा थप सशक्त बनाउँदै दोस्रो स्थानमा थप मजबुत बनाए ।
जितपछि दोस्रो स्थानको आर्सनलको २५ खेलमा ५३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलभन्दा आर्सनल अझै ४ अंकले पछि छ भने लिभरपुलले एक खेल कम खेलेको छ । लेस्टर १७ अंकसहित १९औं स्थानमा छ ।
