बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वाटर फाइनल खेलमा कमल गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती गोल वर्षा ओलीले मेचीनगरका लागि गरेकी थिइन् ।

खेलको १२औं मिनेटमा गोल गरेकी वर्षाले २५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । यसैगरी, खेलको ५१औं मिनेटमा नयन राईले मेचीनगरको लागि तेस्रो गोल गरिन् ।

खेलमा दुई गोल गरेकी वर्षा ओली प्लेयर अफ दी म्याच बनिन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।

भोलि (बिहीबार) अन्तिम क्वाटरफाइनल खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । बिर्तामोड नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *