नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर निशा थोकरले घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका बाँकी खेल गुमाउने भएकी छिन् ।
निशा प्रतियोगिता अन्तर्गत किर्गिस्तानविरुद्ध सोमबार भएको खेलको दौरान घाइते भएकी थिइन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको इन्जुरी समयमा निशा किर्गिस्तानको खेलाडीसँग ठोक्किन पुगेकी थिइन् ।
त्यसलगत्तै उनलाई त्रिपुरेश्वरमै रहेको ब्लु क्रस हस्पिटलमा लगिएको थियो । निशाको निधारमा चोट लागेको र उक्त चोटमा टाँका लगाएर सोमबार बेलुका नै हस्पिटलले उनलाई डिस्चार्ज गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
निधारको चोट निको हुन समय लाग्ने र त्यो समयसम्म चिकित्सकले आराम गर्न सल्लाह दिएकोले निशाले महिला च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएको शाहले बताए ।
किर्गिस्तानसँगको पहिलो खेलमा नेपाल १-० ले विजयी भएको थियो। नेपालले आफ्नो दोश्रो खेल बिहीबार लेबनानसँग खेल्ने छ । लेबनान सोमबार नै भएको पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको थियो ।
