दुहबी । सुनसरीको दुहबीमा फागुन ४ गतेदेखि सातौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा दुहबीका १२ वटा वडाको टिमको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी गराए । साथै उनले फुटबल क्षेत्रमा दुहबी नगरपालिका भित्रबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको मुख्य उदेश्य रहेको बताए ।
दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लबको संयोजनमा फागुन ४ गते देखि १५ गते सम्म दुहबी-५ स्थित श्री सरस्वती मा.वि. को खेल मैदानमा हुन लागेको हो ।
सम्म्लेनमा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन गरेर राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको बताए । दुहबीमा २२ करोडको लागतमा दुहबी रंगशाला निर्माणाधिन अवस्थामा रहेको जानकारि दिंदै दुहबीमा चाँडैनै अन्तरास्ट्रीय गोल्डकप गर्ने समेत मेयर गच्छदारले बताए ।
संघिय सरकारले बजेट कटौती गरेको लगायत विविध कारणले दुहबी नगरपालिकामा गत पुस महिनादेखि विकास वजेट १० करोड कम गर्नु परेको बताउँदै मेयर गच्छदारले युवाहरुलाइ व्यवसायिक र आत्मनिर्भर बनाउन खेलकुदको बजेट कटौती नगरिएको जनाए ।
प्रतियोगिताका लागि नगरपालिकाबाट कुल ११ लाख रुपैयाँ रकम उपलब्ध गराउने उनले बताए ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछ । खेलमा विभिन्न विद्याका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका उपप्रमुख मेनुका खतीवडा, प्रमुख प्रशासकिय अधिकृत हिमालय बराल, दुहबीका वडाअध्यक्षहरु मुस्तकिम मिया, घनश्याम हलुवाई , तुला राम माझी, तारिक चन्द सरदार, खडक उराँव, राम चन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो ।
