‘कोशी प्रभिन्स प्रिमियर लिग-२०८१’ फुटबल प्रतियोगिता यहि माघ २८ गते देखी धरान रङ्गशालामा सुरु हुने भएको छ ।
आयोजक कोशी प्रदेश फुटबल संंघले शुक्रवार बिहान एन्फा एकेडेमी धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशका ११ जिल्लाका च्याम्पियन फुटबल क्लबहरूबीच प्रतिस्पर्धा हुने जानकारी गराएको हो ।
जिल्लाका क्लबहरूलाई नेपाली फुटबलको महत्त्वपूर्ण राष्ट्रिय लिग ‘ए’ डिभिजनका लागि खेल्ने अवसर प्रदान गर्न कोशी प्रभिन्स प्रिमियर लिग आयोजना गरिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।
फागुन ८ गते सम्म सञ्चालन हुने लिग फुटबलमा कुल १६ खेल हुनेछन् ।
प्रिमियर लिगमा सहभागी ११ जिल्ला च्याम्पियन क्लबहरू बिच हुने प्रतियोगिताबाट २ वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलकालागि छनौट हुनेछन् ।
प्रतियोगिताको ४ समूहमा समूह ‘ए’ लोह रुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर छन् । समूह ‘बी’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट स्पोर्टिङ फुटबल क्लब मोरङ छन् ।
समूह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाइजन चारआली फुटबल क्लब झापा, रेडहर्स फुटबल क्लब इलाम छन् । समूह ‘डी’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ, बुईपा ११ फुटबल क्लब खोटाङ रहेका छन् ।
प्रिमियर लिगको सुपर ४ का लागि प्रथम पुरस्कार २ लाख रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार १ लाख ५० हजार, तेस्रो १ लाख २५ हजार, चौथो पुरस्कार १ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने छ । यस्तै उत्कृष्ट गोलरक्षक, डेफेन्डर, मिडफिल्डर, फरवार्डले जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
