दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर १ लाई १-० गोलले हराउँदै वडा नम्बर ७ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

वडा नम्बर ७ लाई जित दिलाउन अंकित चौधरीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने वडा नम्बर ७ कै अमित चौधरी घोषित भए । उनले पुरस्कार बापत नगद नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो सेमिफाइनल खेल वडा नम्बर ८ र वडा नम्बर १० बीच प्रतिस्पर्धा हुनेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।
