मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३-१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो ।

९० मिनेटसम्म १-१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३-१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औं मिनेटमा अग्रता बनाएको थियो ।

एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो ।

खेलको ८४ औं मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्याए । रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा रोहन कार्कीले गोल गर्दै खेल २-१ को स्थितमा पुर्याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए ।

अतिरिक्त समयमा नै समिर तामङको पासमा हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३-१ को जित दिलाए । खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपिछ भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरुङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए ।

झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन बढेर गएको उनको भनाइ छ ।

त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए । केपी ओली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।

प्रतियोगिताअन्तर्गत फाइनल खेल फागुन १६ गते हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *