यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले पीएसभी आइन्डोभनमाथि कठिन जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले डच टोली पीएसभी २–१ को कठिन जित निकालेको हो ।
युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन वेस्टोन म्याकेनी र स्यामुयल एम्बाङगुलाले गोल गरे । पीएसभीका लागि इभान पेरिसिचले गोल गरे ।
खेलको ३४औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्टसलाई अग्रतामा दिलाएका थिए । ५६औं मिनेटमा पेरिसिचको गोलमा पीएसभीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो । तर, ८२औँ मिनेटमा एम्बाङगुलाले गोल गर्दै युभेन्ट्सलाई पुनः २–१ को अग्रतामा राखे । यही गोल निर्णायक बन्दा युभेन्ट्सले पहिलो लेगमा २–१ को जित निकालेको हो ।
युभेन्ट्स र पीएसभीबीचको दोस्रो लेग फेब्रुअरी २० मा पीएसभीको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति नै सम्पन्न प्लेअफको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनमाथि ३-० को सहज जित निकालेको छ ।
लिस्बनको घरेलु मैदानमा भएको खेलमा डर्टमन्डलाई जित दिलाउन सेर्होउ गुइरासी, पास्कल ग्रोब र करिम अडेयेमीले गोल गरे । डर्टमन्डले तीनै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ६६औँ मिनेटमा गुइरासीको गोलमा डर्टमन्डले अग्रता बनाएको थियो । त्यसको आठ मिनेटपछि नै ग्रोबको गोलमा डर्टमन्डले अग्रता दोब्बर बनायो । ८२औँ मिनेटमा अडेयेमीले गोल गर्दै डर्टमन्डलाई ३–० को सहज जित दिलाए ।
डर्टमन्ड र लिस्बनबीचको दोस्रो लेग फेब्रुअरी १९ मा डर्टमन्डको मैदानमा हुनेछ । च्याम्पियन्स लिग अन्तर्गत प्लेअफमा आज राति पनि चार खेल हुनेछन् ।
