धरान । कोशी प्रदेश प्रिमियर लिगअन्तर्गत आइतबारदेखि सुपर लिगका खेलहरु सुरु भएको छ ।
धरान रंगशालामा आइतबार भएको सुपर लिगका दुवै खेल बराबरीमा सकिएको छ । खेल बराबरीमा टुंगिएपछि चार टोलीले १-१ अंक बाडेका छन् ।
सुपर लिगको पहिलो खेलमा पाँचथर युनाइटेड र खोटाङको बुइपा ११ ले १-१ गोलको बराबरी खेले । पाँथचरका सुशील लावतीले गोल गरेका थिए भने बुइपाका प्रविन्द्र राईले गोल गरेका थिए । खेलमा बुइपाका पबिन राई म्यान अफ दि म्याच चुनिए ।
यस्तै, दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लब र उदयपुरको गाईघाट फुटबल क्लबले गोलरहित बराबरी खेलेर १-१ अंक बाँडे । खेलमा देउरालीका विश्व लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
पाँचथर समूह ‘ए’ बाट विजेता बनेर सुपर लिग प्रवेश गरेको थियो भने गाईघाट समूह ‘बी’ बाट विजेता बनेको थियो । यसैगरि, देउराली यूथ क्लब समूह ‘सी’बाट विजेता बनेको थियो भने खोटाङ समूह ‘डी’ बाट विजेता बनेर सुपर लिगमा प्रवेश गरेको टोली हो ।
त्यसअघि सुपर लिग चरणको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले गरेका थिए ।
प्रतियोगिताअन्तर्गत फागुन ५ गते सोमबारको पहिलो खेल १ बजे गाइघाट फुटबल क्लब, उदयपुर र बुइपा–११ फुटबल क्लब, खोटाङबीच हुनेछ भने दोस्रो खेल ३ बजे देउराली फुटबल क्लब, धनकुटा र पाँचथर युनाइटेड फुटबल क्लब, पाँचथरबीच हुनेछ ।
लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
