इङ्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
आइतबार रेलिगेसनबाट बच्न संघर्षरत वुल्भ्समाथि २-१ गोलको जित हात पार्दै लिभरपुलले लिगमा शीर्ष स्थानमा ७ अंकको अग्रता कायम गरेको हो ।
एनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । उल्भरह्याम्पटनका लागि म्याथ्युज कुन्हाले गोल फर्काए ।
खेलको १५औं मिनेटमा डियाजको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ३७औं मिनेटमा सलाहले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
कुन्हाले ६७औं मिनेटमा गोल गर्दै उल्भरह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
जितसँगै लिभरपुलले २५ खेलमा ६० अंक जोडेको छ । यो दोस्रो स्थानको आर्सनलको भन्दा सात अंक बढि हो । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५३ अंक छ।
यता पराजित उल्भ्स समान खेलबाट १९ अंकका साथ १७औं स्थानमा छ । उल्भ्स रेलिगेसन क्षेत्रमा रहेको इप्सवीच टाउनकोभन्दा मात्र दुई अंकले अगाडि छ ।
