धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समूह ‘ए’ बाट समूह बिजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा सम्पन्न खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै पाँचथर समुह विजेता बनेको हो ।

समूह बिजेता भएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । समूह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समुह बिजेताको टुंगो लागेको थियो । पराजित लोहरुङ भने प्रतियोगिताबाट बाहिरिएको छ।

बिहीबार नै समूह ‘सी’ अन्तर्गत सम्पन्न खेलमा इलामको रेडहर्ष क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै धनकुटाको देउराली फुटबल क्लबले समूह बिजेता हुने सम्भावना कायमै राखेको छ । समूह ‘सी मा झापाको धाइजन चारआलीसँग पराजित भएको धनुकटा र एक खेल खेलेको धाइजनको समान तीन अंक भएको छ ।

शुक्रबार हुने रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबिचको खेलबाट समूह विजेताको टुंगो लाग्ने छ । यस समूहमा रहेका तीन वटै क्लबको दोस्रो चरणमा पुग्ने सम्भावना छ ।

शुक्रबार सुनसरीको धरान फुटबल क्लब र खोटाङको बुइपा-११ बिच पहिलो खेल हुनेछ भने इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबिचको दोस्रो खेल हुनेछ । तीन अंक भएको बुइपा र शून्य अंक भएको धरान दोस्रो चरण प्रवेशका लागि खेल्ने छन् । धरानले दुई गोलअन्तरमा बुइपालाई पराजित गर्दा मात्रै दोस्रो चरणमा पुग्नेछ भने बुइपा भने एक गोलअन्तरले पराजित हुँदा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा ८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिए । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा बिभाजन गरिएको छ । समूह बिजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्ने छन् ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *