नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा कथावस्तुबारे विस्तृत चित्रण गरिएको छ । दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा ट्रेलरमा चित्रण छ ।
पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने दृश्य समेटिएको छ । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई प्रस्तुत गरिएको छ ।
प्रमुख भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन् । फुटबलको विपक्षमा बुवा र पक्षमा आमा छन् ।
एक खेलाडीको संघर्षको कथामा आधारित फिल्म यही २९ फागुनमा प्रदर्शन हुनेछ । फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्ममा एञ्जिलासहित कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन् ।
एञ्जिलाले ग्रीसको क्लब अट्रोमिटौबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन् । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेलेर एञ्जिला शुक्रबार दिउँसो ग्रीसतर्फ प्रस्थान गरेकी छन् ।
