इटहरी । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ।
प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।
यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन् । भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ । यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेका छन् ।
प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथिको रूपमा बोल्दै अन्तर्राष्ट्रिय प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए ।
मन्त्री भण्डारीका अनुसार, यस्ता खेलकुद गतिविधिहरूले प्रदेशको खेल क्षेत्रको विकास मात्र नभई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । मन्त्री भण्डारीले प्रदेश सरकारले आउँदो वर्षको बजेटमा सुटिङबल खेललाई समेट्ने प्रतिबद्धता जनाएका छन, जसले नेपालमा सुटिङबलको विकासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
सरकारले प्रदेशस्तरमा खेलकुद संरचनाहरू विकास गर्न, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजनाका लागि बजेटको व्यवस्था गर्न आवश्यक पहल मन्त्री भण्डारीले बताए । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रदेश सरकारका लागि गर्वको विषय भएको भन्दै उनले यसको निरन्तरताको पक्षमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन ।
कार्यक्रममा एसियन सुटिङबल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोर प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै महासचिव तमोरले देशहरू बीचको मित्रता सुदृढ गर्न यस्ता खेलकुद कार्यक्रम प्रभावकारी हुने बताएका छन । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले खेलाडीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने मात्र नभई, देशहरूबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने भूमिका खेल्ने एसीयन सुटिङबल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोरले बताएका छन ।
गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न सुटिङबल वर्ल्ड च्याम्पियनसिपमा नेपालले उल्लेखनीय प्रदर्शन गरेको थियो । महिला र पुरुष दुवै टिमले तेस्रो स्थान हासिल गरेका थिए । उक्त प्रतियोगितामा कुल ११ देशको सहभागिता रहेको थियो । नेपालले यसपटकको प्रतियोगितामा आफ्नो प्रदर्शनलाई अझ सुधार गर्दै पदक तालिकामा अग्रस्थान हासिल गर्ने लक्ष्य राखेको छ ।
दोस्रो एसियन सुटिङबल च्याम्पियनसिप २०२५ ले नेपालमा सुटिङबल खेलको प्रवर्द्धनमा ठुलो भूमिका खेल्नेछ । चार देशका खेलाडीहरूबीचको प्रतिस्पर्धा र खेल भावना यस प्रतियोगिताको मुख्य आकर्षण हो । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले नेपाललाई खेल पर्यटनको केन्द्र बनाउने दिशामा योगदान पुऱ्याउने आशा गरिएको छ । कार्यक्रमको अध्यक्षता एसीयन सुटिङबल फेडरेसनका उपाध्यक्ष केशव विष्टले गर्नुभएको थियो ।
उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भए पनि मुख्य खेलहरू अझै बाँकी छन् । अब सबैको नजर खेलाडीहरूको प्रदर्शनमा केन्द्रित हुनेछ ।
