हालै भएको नेपाली कांग्रेस सभापति कपको उपाधि विजेता टिम संकटा क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा संकटा क्लब भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो ।
संकटाले सुरुआती अग्रता लिए पनि जोगाउन असफल भयो । १७ औं मिनेटमा संकटाका लगि मनिस पौडेलले गोल गरेका थिए । पासाङ लामाको पास सदुपयोग गर्दै मनिष पौडेलले डी बक्स भित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।
थन्डरबोल्टले ३४ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरेको थियो । उसका टालाले सहजै गोल गरेका थिए ।
त्यसपछि ७७औं मिनेटमा करण राईले गोल गर्दै थण्डरबोल्टलाई अग्रता दिलाए, जसलाई ८४औं मिनेटमा आदर्श तामाङले अर्को गोल थप्दै ३-१ को सहज जित दिलाए ।
थण्डरबोल्टका खेलाडी टाला म्यान अफ द म्याच घोषित भए ।
जितसँगै थण्डरबोल्ट नर्थ युनाइटेडले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अब थण्डरबोल्ट उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग भिड्नेछ । ब्ल्याक बुल्स आज मात्रै नेपाल आइपुगेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब, यूकेबीच हुने छ ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
