बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ ।
विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो ।

अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ । अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेकी हुन् ।
खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबाबमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
तर, दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औं मिनेटमा गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाएर जित दिलाएकी थिइन् ।
खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेनु लिम्बू घोषित भइन् । उनले नगद ५ हजार पाइन् ।

अर्जुनधारा र कनकाई नगरपालिकाबीच फागुन ५ गते फाइनल खेल हुनेछ ।
बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
