नेपाल राष्ट्रिय टोलीका फरवार्ड मनिष डाँगी बुटवल लुम्बिनी एफसीको मार्की खेलाडी नियुक्त भएका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि वुटवलले मनिषलाई मार्की नियुक्त गरेको हो ।
अघिल्लो संस्करणमा बुटवलको मार्की तथा कप्तान मिडफिल्डर एरिक विष्ट थिए । बुटबलले तेस्रो संस्करणका लागि एरिकलाई पनि रिटेन गरेको छ । गत संस्करणमा बुटवलले छैटौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो ।
एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट बुटवलसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।
