धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौंले पहिलो जित दर्ता गरेको छ ।
बुधबार भएको दिनको पहिलो खेलमा काठमाडौंले न्यू होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो ।बुटवलले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको जितमा शुभ कन्साकरले नटआउट रहँदै सार्वधिक ५६ रन बनाए । उनले ४७ बलमा १ चौका र ५ छक्का प्रहार गरे । शिभम तिवारी ३५ बलमा २३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बुटवलका लागि तुलबहादुर थापाले २ तथा वीर मगर र निमर्ल गुरुङले समान १ विकेट लिए ।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बुटवलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको थियो ।
बुटवलका प्रतीक श्रेष्ठले सार्वधिक ३७ रन बनाए । उनले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरे । कप्तान दिलिप नाथले २१ बलमा १८ तथा आरिफ खानले १४ बलमा १४ रन जोडे ।काठमाडौंका लागि राज शाह र सूर्य तामाङले समान ३, कप्तान नन्दन यादवले २ तथा दीपेन्द्र रावतले १ विकेट लिए ।
काठमाडौंका शुभ कन्साकर खेलको प्लेयर अफ द म्याच भए । उनल नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
जितसँगै काठमाडौं २ खेलबाट २ अंकसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । पराजित बुटवल २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा बोष्टन झापा र घोडाघोडी ११ बीच खेल हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
