पूजा महतोको अर्धशतकको मद्दतमा नेपालले महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आफ्नो पाँचौ खेलमा नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।

प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोरमा आफ्नो नाम लेखाएकी पूजाले ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् । सिरिजमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो ।

पूजाको यो दोस्रो टी-२० आई अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेकी थिइन् ।

त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् । यस्तै रुबिना क्षेत्रीले २० तथा कविता जोशीले अविजित ७ रन जोडिन् । 

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले चार ओभरमा २५ रन दिएर सर्वाधिक २ विकेट लिइन् । त्यस्तै क्योरोलिन डी लेन्ज र हेथर सेगर्सले समान १ विकेट लिए ।

नेपाल पहिलो जितको खोजीमा छ । जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरीसकेको छ । नेपालले यसअघि नेदरल्याण्ड्स र थाइल्याण्डसँग खेलेका २–२ खेलमा नै हार बेहोरेको हो । नेपाल तालिकाको पुच्छारमा छ ।

दोस्रो स्थानमा रहेको नेदरलयाण्ड्सको ४ खेलबाट ४ अंक छ । बाँकी दुई खेल जिते नेदरल्याण्ड्स पनि उपाधि जित्ने सम्भावना बाँकी हुनेछ ।

यता चार खेलमा शत प्रतिशत नजिता निकाल्दै ८ अंक जोडेको थाइल्याण्ड शीर्ष स्थानमा छ । थाइल्याण्ड च्याम्पियन बन्ने लगभग निश्चित छ । सिरिजमा तिनै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *