काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार पाँचौं हार ब्यहोरेको छ ।
बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्याण्ड्सका लागि स्टेर कालिसले अविजित ९८ र फेबे मोल्केनबोएरले ४८ रनको पारी खेलिन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो ।
प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोरमा आफ्नो नाम लेखाएकी पूजाले ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् । सिरिजमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो ।
पूजाको यो दोस्रो टी-२० आई अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेकी थिइन् ।
त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् । यस्तै रुबिना क्षेत्रीले २० तथा कविता जोशीले अविजित ७ रन जोडिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले चार ओभरमा २५ रन दिएर सर्वाधिक २ विकेट लिइन् । त्यस्तै क्योरोलिन डी लेन्ज र हेथर सेगर्सले समान १ विकेट लिए ।
जितसँगै ५ खेलबाट ६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । एक खेल कम खेलेको थाइल्याण्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल अंकविहीन छ ।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स थाइल्याण्डको सहभागिता छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नेपाल सिरिजको उपाधि होडबाट यसअघि नै बाहिरिसकेको छ । सिरिजको अन्तिम खेलमा नेपालले अब २५ माघमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
