फ्रेन्च लिग वानमा अंक तालिकामा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले सहज जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा साविक विजेता पिएसजीले मोनाकोलाई ४–१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ तथा भिटिन्हा र ख्विचा क्वाराट्स्खेलियाले समान १ गोल गरे । मोनाकोका लागि डेनिस जाकारियाले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा भिटिन्हाको गोलमार्फत पिएसजीले सुरुवाती अग्रता लिएको थियो । तर, १७औं मिनेटमा जाकारियाले मोनाकोका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
५४औं मिनेटमा क्वाराट्स्खेलियाले गोल गर्दै पिएसजी २–१ को अग्रता दिलाए । त्यसको तीन मिनेट पछि नै डेम्बेलेले गोल गर्दा पिएसजी ३–१ ले अघि बढ्यो ।
९०औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजी ४–१ को फराकिलो जित दिलाए ।
जितसँगै शीर्ष स्थानको पिएसजीले १३ अंकको अग्रता बनाएको छ । पिएसजीको २१ खेलबाट ५३ अंक पुगेको छ । पराजित मोनाकोको समान २१ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ
