ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि ४-१ को फराकिलो जित निकालेको हो ।
सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिता दिलाउन रोर्बट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले गोल गरे । सेभिल्लाका लागि भने रुवेन भार्गासले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । तर, त्यसको एक मिनेटपछि नै रुवेनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
खेलको ४६औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दा बार्सिलोना ३–१ ले अघि बढ्यो ।
खेलको ६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । बार्सिलोना १० खेलाडीमा समेटिएपनि सेभिल्लाले त्यसको फाइदा उठाउन सकेन । खेलको ८९औं मिनेटमा गार्सियाले एक गोल थप्दा बार्सिलोना ४–१ ले बिजयी भयो ।
यो जितसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाको २३ खेलबाट ४८ अंक पुगेको छ । अब बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा २ र दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा १ अंकले मात्र पछि छ । सेभिल्ला भने २३ खेलबाट २८ अंकसहित १३औं स्थानमा छ ।
गएराति भएको अन्य खेलमा रियल सोसिडाडले स्प्यानोललाई २–१ ले, भ्यालेन्सियाले लेगेनासलाई २–० ले र गेटाफेले डिपोर्टिभो अलाभेसलाई १–० ले हरायो ।
