काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्यान्डका लागि नन्नपत कोन्चरोएनकाई ६० रनमा अविजित रहिन् ।  नन्नपतले ५८ बलमा ६ चौका प्रहार गरिन् । यसैगरी, सुवानन खियाओटोले १४ र  कप्तान नारुएमोल चाइवाईले १३ रनको योगदान दिइन् । 

नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, रुविना क्षेत्री र कविता कुँवरले समान १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो ।

नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो ।

नेपालकालागि कविता कुवँर र विन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु वर्माले १५ रन बनाइन् ।

यस्तै बविता जोशीले ८ तथा रुबिना क्षेत्रीले ४ रन बनाउँदा सिता राना मगर र ममता चौधरीले समान २ रन जोडिन् । मनिषा उपाध्यायले एक रन बनाउँदा सम्झना खड्काले खातानै खोल्न सकिनन् ।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले समान २ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो ।

सिरिजमा नेपालले अब आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग २० माघ र थाइल्याण्डसँग २२ माघमा खेल्नेछ । यसैगरी, २३ माघमा फेरि नेदरल्याण्ड्ससँग खेल्ने नेपालले २५ माघमा थाइल्याण्डको सामना गर्नेछ । 

सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टिम च्याम्पियन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *